Rental Nepal is a Complete Real Estate Solution for Nepal

सुकुम्बासीलाई नमुना बस्ती

Posted on: Mar 16th 2019 | 565 Views Share Tweet Share
logo1

सुकुम्बासीलाई नमुना बस्ती

विराटनगर महानगरपालिका १९ धनपुरामा विपन्नलाई घर निर्माण योजना 

देवनारायण साह

मोरङ — विराटनगर महानगरपालिका १९ धनपुरामा सुकुम्बासीका लागि नमुना बस्ती निर्माण भइरहेको छ । महानगर र दातृ संस्था ह्याबिट्याट फर हुम्यानिटिजको सहयोगमा सहारा नेपाल र जीवन विकास समाज कटहरीले बस्ती निर्माण गरिरहेका हुन् । 

विराटनगर महानगरपालिका १९ धनपुरामा निर्माण भइरहेको एकीकृत नमुना बस्ती । तस्बिर : देवनारायण/कान्तिपुरस्थानीय ३० परिवार बिपन्न सुकुम्बासी ऋषिदेव र दुई परिवार विश्वकर्मा परिवारका लागि पहिलो चरणमा घर निर्माण भइरहेको छ । स्थानीय प्रेम ऋषिदेवले यसअघि आफूहरूले बसोबास गर्दै आएको घर भत्काएर महानगर र दातृ संस्थाको सहयोगमा सेवा प्रदायक संस्थाले घर निर्माण गरिरहेको बताए ।

 

‘हाम्रो लागि महानगरले सुरक्षित र व्यवस्थित बस्ती निर्माण गरिरहेकोले खुशी लागेको छ,’ उनले भने, ‘घर निर्माणका लागि डकर्मी र कामदारको काम गरेर हामीले नै घर निर्माण गरिरहेका छौं,’ उनले भने, ‘सेवा प्रदायक संस्थाले हामीलाई डकर्मी काम गर्नेलाई दैनिक ८ सय र कामदारलाई दैनिक ५ सय ज्यालादिइरहेको छ ।’

सातामा एक दिन आफूहरूले जनश्रमदान गरेर बस्ती निर्माणमा जुटेको उनले सुनाए । स्थानीय मन्तीदेवी ऋषिदेवले महानगरले राम्रो र व्यवस्थित घर निर्माण गर्नु आफूहरूका लागि खुशीको कुरो भएको बताइन् । ‘महानगरले घर बनाएर दिनु राम्रो हो तर त्यो घर हाम्रो नै हुनुपर्छ,’ उनले भनिन्, ‘त्यो घर र जग्गाको लालपुर्जा नपाउने हो भने घरमा अपनत्व बोध हुन सक्दैन ।’ उनले जग्गाको धनीपुर्जासँगै महानगरले घर हस्तान्तरण गरिदिए घरमा अपनत्व बोध हुने उनले सुनाइन् ।

महानगरका पुनम दाहालका अनुसार सरकारी स्वामित्वको १ विघा ४ कठ्ठा जग्गामा उक्त बस्ती निर्माण भइरहेको छ । ‘खोला किनारमा बस्दै आएका र बिपन्न सुकुम्बासीका लागि दातृ निकायको सहयोगमा नमूना बस्ती निर्माण भइरहेको छ,’ उनले भने, ‘६० घरको उक्त बस्तीमा कालोपत्रे सडक, घर घरमा खानेपानी, सामुदायिक भवन, बालबिकास केन्द्र, स्वास्थ्य संस्था, हरित बगैंचाका साथै आकर्षक घर निर्माण भइरहेको छ ।’

बस्ती निर्माणका लागि महानगरले जग्गा, उक्त जग्गामा माटो भर्ने, नाला, खानेपानी र पर्खाल निर्माण गरिदिने सम्झौता भएको छ । दातृ संस्था ह्याबिट्याटको आर्थिक र प्राबिधिक सहयोगमा सहारा नेपाल, विराटनगर शाखा र जीवन विकास समाज कटहरीले संयुक्त रूपमा स्ट्रिट लाइन मोडेलमा घर, सामुदायिक भवन, बालविकास केन्द्र, स्वास्थ्य संस्थाका लागि भवन, दिनारामभद्री भगवानको मन्दिर र हरित बगैंचा निर्माण गर्ने सम्झौता भएको उनले बताए ।

सहारा नेपाल, विराटनगर शाखा प्रबन्धक घनश्याम अधिकारीका अनुसार पहिलो चरणमा पहिले देखि रहेको ३२ घरधुरीको सुरक्षित र व्यवस्थित बसोबासका लागि घर निर्माण गरिरहेका छौं । ‘पहिलो चरणमा स्थानीय ३२ परिवारका लागि घर निर्माण गरिरहेका छौं,’ उनले भने, ‘पुरानो घर भत्काएर पुस १५ गतेदेखि सुरु गरेको घर निर्माण सकेर जेठ मसान्तमा हस्तान्तरण गर्ने लक्ष्य छ ।’
बाँकी २८ परिवारका लागि आउँदो आर्थिक वर्षको असोजबाट निर्माण सुरु गर्ने योजना रहेको अधिकारीले सुनाए ।

इञ्जिनियर अनिल घिमिरेका अनुसार स्ट्रिट लाइन मोडेलमा प्रतिपरिवारका लागि आरसिसि ढलान भएको जगमाथि पिल्लर र सिमेन्टको ब्लकको पर्खाल र माथि रंगिन जस्तापाता भएको दुई वटा कोठा, भान्सा कोठा, शौचालय र स्नान घर निर्माण भइरहेको छ । ‘पहिलो चरणमा सामुदायिक भवन, दिनारामभद्री भगवानको मन्दिर निर्माण गर्छौं,’ उनले भने, ‘पूरानो बस्ति हटाएर ३२ परिवारलाई स्थानीयकोखेतमा अस्थायी टहरा बनाएर बसोबास गरिरहेकोले बर्षायाम सुरु हुनु अगाबै घर निर्माण गरेर हस्तान्तरण गर्ने चुनौती छ ।’ उनले प्रति परिवारको घर निर्माणका लागि ४ लाख ८० हजार बजेटको व्यवस्थापन भएको बताए ।

प्रबन्धक अधिकारीका अनुसार अघिल्लो बर्षका विराटनगर १९ खापटोलस्थित सिंघिया खोला किनारका बाढीपिडित बिपन्न सुकुम्बासीका लागि ह्याबिट्याटको सहयोगमा आफूहरूले अस्थायी घर निर्माण गरेको बताए । ‘महानगरको वडा १९ का वडा अध्यक्ष बद्री सरदारले सिंघीया खोला किनारका विपन्न सुकुम्बासीका लागि स्थायी घर निर्माणका लागि पहल थलेका थिए,’ उनले भने, ‘विराटनगर महानगरले परिषदबाट खोला किनारबाट हटाएर सुरक्षित र व्यवस्थित बस्ती निर्माणगर्ने नीति लिएकाले हामीले पनि दातृ संस्थालाई स्थायी घर निर्माणका लागि पहल थालेका थियौं ।’

दातृ संस्था ह्याबिट्याटले घर निर्माणका लागि सहमति जनाएपछि महानगरको समेत लगानी रहने गरी जग्गा प्राप्त गरेर बस्ती निर्माणमा जुटेको अधिकारीले सुनाए । वडा अध्यक्ष सरदारले खापटोलस्थित सिंघिया खोला किनारका २८ घरका लागि मात्रै अहिले व्यवस्थित र सुरक्षित निर्माण सुनिश्चित भएकोले थप परिवारका लागि पहल गरिरहेको बताए । सुरक्षित र व्यबस्थित घर निर्माणका लागि महानगरले पनि एक करोड बजेट विनियोजन गरेको उनले सुनाए ।

महानगर प्रमुख भीम पराजुलीले महानगरपालिकास्थित खोला किनारमा रहेका र अन्य ठाउँका बिपन्न सुकुम्बासीका लागि एकिकृत नमुना बस्ती निर्माण सुरु भएको बताए । ‘क्रमिक रूपमा प्रत्येक वडामा रहेको बिपन्न सुकुम्बासीका लागि व्यवस्थित र सुरक्षित बस्ती निर्माण गर्ने लक्ष्य छ,’ उनले भने, ‘एकीकृत बस्तीमा सामुदायिक भवन, हरित बगैंचा, शैक्षिक र स्वास्थ्य संस्था, बस्तीमा बसोबास गर्नेहरूको धर्मसँग सम्बन्धित मन्दिर, मस्जिदलगायत निर्माण गर्छौं ।’प्रकाशित : चैत्र २, २०७५ १०:१५
Kantipur 
 
Comment with Facebook

Explore by City