नक्कली जग्गाधनी खडा गरी कालिमाटीको एक रोपनी १३ आना जग्गा बिक्री गरेको आरोपमा वडाध्यक्ष, मालपोतका कर्मचारी, लेखापढी व्यवसायीसहित पक्राउ, भारतीय नागरिक सिंहानिया फरार
काठमाडौँ । अमेरिकामा बस्ने व्यक्तिको नागरिकता र राष्ट्रिय परिचयपत्र बनाएर काठमाडौँ जग्गा बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता एसएसपी अनुपमसशेर जबराले काठमाडौँ महानगरपालिका- १३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धर, भूमि प्रशासन (मालपोत) कार्यालय, कलङ्कीका अधिकृत टीकाबहादुर कुवरसहितका कर्मचारी पक्राउ परेकाे बताए ।
अनुसन्धानका क्रममा जग्गा किनबेचका मध्यस्तकर्ता (दलाल), लेखापढी व्यवसायी, राष्ट्रिय परिचयपत्र बनाउने सङ्लग्न जिल्ला प्रशासन कार्यालयका कर्मचारीसमेत प्रहरी नियन्त्रणमा छन् ।
वृद्ध अवस्थाका कारण वडाध्यक्ष मानन्धरलाई अदालतले हाजिर जमानीमा रिहा गरेको छ । कर्मचारीमध्ये मालपोत कार्यालयका सात जना नायब सुब्बा र एक खरिददार छन् ।
राष्ट्रिय परिचयपत्र बनाउने कर्मचारी पनि पक्राउ परेका छन् । उनीहरूलाई थुना बाहिर राखेर अनुसन्धान हुँदै र दोषी ठहर भएपछि अदालतमा उपस्थित गराइने जबराले बताए । थुनाबाहिर राखेर अनुसन्धान भइरहेका कर्मचारीको नाम गोप्य राखिएको छ ।
कर्मचारीसँग मिलेर जग्गाधनीको राष्ट्रिय परिचयपत्र बनाउने कार्यमा कीर्ते गर्ने राज सिंहानिया हालसम्म फरार छन् । उनी भारतीय नागरिक हुन् । अमेरिकामा बसोबास गर्दै आएका सुमित अडुकियाको कालिमाटीस्थित एक रोपनी १३ आना जग्गा बिक्रीका क्रममा कागजात कीर्ते गरेका कारण उनीहरू पक्राउ परेका हुन् । उक्त जग्गा २०८२ माघमा बिक्री गरिएको थियो ।
‘विश्वासिलो’ कामदारबाटै बेइमानी
वृद्ध आमाको हेरचाह र विभिन्न घरायसी काममा सघाउ पुगोस् भनी अडुकिया राज सिंहानियालाई सबै कामको जिम्मा लगाएर आफू सपरिवार अमेरिका बस्दै आएका थिए । पेशाले उनी बैज्ञानिक हुन् । उनको नेपाली नागरिकताको सक्कल प्रति सिंहानियासँगै थियो ।
सक्कल नगरिकताका आधारमा सिंहानिया आफैँ सुमित अडुकिया बनेर राष्ट्रिय परिचयपत्र बनाए । अडुकियाले अङ्ग्रेजी हस्ताक्षर गर्थे । सिंहानियाले ‘अडुकिया’ बन्ने क्रममा उनको नेपाली हस्ताक्षर गर्दै बैंक खातासमेत खोले ।
कालिमाटीमा अडुकियाको घरसँगै रहेको एक रोपनी १३ आना जग्गा बिक्रीका लागि सिंहानियाले ग्राहकको खोजी थाले । त्यस्तो प्राइम लोकेशनको जग्गालाई जम्मा ८ करोडमा पाइने भएपछि धेरैले खरिद गर्न चाहे । त्यसमध्ये सिंहानियाले दीपक अग्रवाललाई जग्गा बेचे ।
जग्गा खरिदपछि अग्रवालले व्यक्तिगत भोगचलन नगरी नाफा लिएर अर्को व्यक्तिलाई बेच्न खोजेका थिए । त्यसका लागि एकजना दलाल परिचालन गरे । त्यसक्रममा कालिमाटीमै बस्ने एक व्यक्ति फेला पारे ।
ग्राहक साथी परेपछि…
अग्रवालले जग्गा किन्ने भनी फेला पारेका ग्राहकसँग चार करोड नाफा लिएर १२ करोडमा जग्गा किनबेचको सहमति गरे । उनले उक्त जग्गा सुमित अडुकियाबाट खरिद गरेको पनि सुनाए । संयोगले ती ग्राहकले अडुकियालाई राम्रोसँग चिनेका रहेछन् ।
साथीको जग्गा किन्ने भएपछि उनले अमेरिकामा सम्पर्क गरेर ‘छिमेकी बन्ने भइयो’ भने । आफ्नो घर वरपर एक रोपनी जमिन आफ्नोबाहेक कसैको छैन भन्ने कुरा अडुकियालाई राम्रोसँग थाहा थियो । कित्ता नम्बर र क्षेत्रफल भिडाएर हेर्दा जग्गा आफ्नै भएको अडुकियाले पत्ता लगाए ।
आफ्नो जग्गा कीर्ते भएर बेचबिखन भएको थाहा पाएपछि अडुकियाले काठमाडौँमा बस्ने आमालाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा उजुरी गर्न पठाए । अनुसन्धान जटिल बनेपछि सीआईबीले थप अनुसन्धान अगाडि बढाएको थियो ।
भूलबस अडुकियाको जग्गा सिंहानियाबाट खरिद गरेको भन्दै दीपक अग्रवालले सीआईबीमा जाहेरी दिएका थिए । उनकै जाहेरीका आधारमा सीआईबीले कसुरदारको पहिचान र कारवाही अगाडि बढाएको एसएसपी जबराले बताए ।
पक्राउ पर्नेहरूमा जग्गा किनबेच मध्यस्थकर्ता २६ वर्षीय मुस्तफा आलम, वकिल चौधरी थानी, लेखापढी व्यवसायी मीनकुमार रोका, राजाराम थापालगायतका छन् ।




