Rental Nepal is a Complete Real Estate Solution for Nepal

बिमा कम्पनीले घरजग्गा व्यवसायमा पनि लगानी गर्न पाउने

Posted on: Mar 16th 2019 | 993 Views Share Tweet Share
bima-samite

मक लगानीसम्बन्धी निर्देशिका २०७५ जारी 

 

 

२०७५ फाल्गुण ३० बिहीबार ११:१०:०० | काठमाडौं

 

अब बिमा कम्पनीहरूले पनि घरजग्गा व्यवसायमा लगानी गर्न पाउने भएका छन् । बिमा समितिले बिमकको लगानीसम्बन्धी निर्देशिका २०७५ जारी गर्दै घरजग्गा व्यवसाय, जलस्रोत, कृषि, पर्यटन, सामूहिक लगानी कोषलगायतका क्षेत्रमा लगानी गर्न सक्ने बाटो खोलिदिएको हो । निर्देशिकामा गरिएको व्यवस्थाअनुसार कम्पनीहरूले कुल टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म घरजग्गा व्यवसायमा लगानी गर्न पाउनेछन् । 

बिमा कम्पनीहरूमा लगानीयोग्य रकम थुप्रिँदै गएपछि लगानीका क्षेत्रहरू पनि विस्तार गर्नुपर्ने कम्पनीहरूले माग गर्दै आएका थिए । सोहीबमोजिम बिमा समितिले बुधबार लगानी निर्देशिका नै जारी गरेको हो । समितिले जीवन, निर्जीवन तथा पुनर्बिमा कम्पनीहरूले लगानी गर्ने क्षेत्रहरू तोकेको छ । निर्देशिकाले कम्पनीहरूको गणनायोग्य सम्पत्तिमा सीमा तोकी लगानीको क्षेत्र र दायरा तोकेको बिमा समितिमा निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

उनका अनुसार निर्देशिकाले तोकेको सीमाभन्दाबाहिर गएर पनि कम्पनीहरूले लगानी गर्न पाउनेछन् । कम्पनीहरूले लगानी गर्नुपूर्व अनिवार्य रूपमा बिमा समितिको स्वीकृति लिनुपर्नेछ । घरजग्गा व्यवसायमा रहेको लगानीलाई कम्तीमा प्रत्येक तीन वर्षमा एकपटक र घरजग्गाको बाहेक अन्य क्षेत्रमा गरेको लगानीलाई प्रत्येक दिन मूल्यांकन गर्नुपर्नेछ । 

वाणिज्य बैकको मुद्दतीमा ४० प्रतिशत लगानी गर्न सकिने
बिमा कम्पनीहरूले वाणिज्य बैंकको मुद्दती निक्षेपमा ४० प्रतिशतसम्म लगानी गर्न पाउने भएका छन् । लगानी निर्देशिका अनुसार वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा कुल टेक्निकल रिजर्भको ४० प्रतिशतसम्म लगानी गर्न सकिनेछ । तर, लगानी गर्ने बैंक स्थापना भएको ५ वर्ष पूरा भएको हुनुपर्नेछ भने ३ वर्षसम्म नाफामा रहेको हुनुपर्नेछ । एउटा बैंकमा १५ प्रतिशतसम्म लगानी गर्न सकिनेछ । विकास बैंकको मुद्दती निक्ष्ोपमा २० प्रतिशत र वित्त कम्पनीको मुद्दती निक्षेपमा १० प्रतिशत लगानी गर्न पाइनेछ । 

बचतपत्रमा ५ प्रतिशत लगानी
बिमा कम्पनीहरूले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नेपाल सरकारबाट मान्यताप्राप्त बचतपत्र वा ऋणपत्रमा ५ प्रतिशतसम्म लगानी गर्न पाउने भएका छन् । तर, बचतपत्र तथा ऋणपत्र जारी नभएको अवस्थामा बिमा समितिको स्वीकृतिमा वाणिज्य बैंक वा पूर्वाधार बैंकको मुद्दती निक्षेपमा लगानी गर्न सक्नेछन् । 

पब्लिक कम्पनीको आइपिओ १० प्रतिशत लगानी गर्न सक्ने
बिमा कम्पनीहरूले पब्लिक कम्पनीको साधारण सेयरमा १० प्रतिशतसम्म लगानी गर्न पाउने भएका छन् । समितिले जारी गरेको लगानी निर्देशिकाअनुसार सेयर लगानी गरिने कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी हुने गरी लगानी गर्न भने पाइने छैन । त्यस्तै बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयरमा २० प्रतिशतसम्म लगानी गर्न सक्नेछन् । यस्तो लगानी कम्पनीको चुक्ता पुँजीको १० प्रतिशतभन्दा बढी हुने गरी लगानी गर्न पाइने छैन । साथै पब्लिक कम्पनीको डिबेन्चरामा भने २० प्रतिशतसम्म लगानी गर्न सकिनेछ । यस्तो लगानी आह्वान गरिएको कुल रकमको १० प्रतिशतभन्दा बढी हुनुहुँदैन । 

सिआइटी तथा म्युचुअल फन्डमा लगानी गर्न सकिने
बिमा कम्पनीहरूले म्युचुअल फन्डमा समेत लगानी गर्न पाउने भएका छन् । समितिले नागरिक लगानी कोषको साथमा कम्पनीहरूले म्युचुअल फन्डमा समेत गरी ५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरेको छ । कम्पनीहरूले एउटै योजनामा ५ प्रतिशतभन्दा बढी लगानी गर्न पाउने छैनन् । 

 कुल टेक्निकल रिजर्भ भनेको के हो ?
जीवन बिमा कम्पनीको हकमा बिमालेखबापत बिमितहरूलाई दिनुपर्ने दायित्व, बोनसको लागत, आकस्मिक व्यवस्था, तत्काल भुक्तानी गर्नुपर्ने दाबीको व्यवस्थाको योगफल नै टेक्निकल रिजर्भ हो । साथै यसमा बिमालेखसँगको सम्बन्धित अन्य दायित्व र व्यवस्था, खुद दाबी भुक्तानीबापतको व्यवस्था र अवधि समाप्तबापत भुक्तानी गर्नु नपर्ने बिमाको असमाप्त जोखिमबापतको व्यवस्था रकमसमेत जोडिएको हुन्छ । 

त्यस्तै निर्जीवन बिमा व्यवसाय गर्ने बिमकको हकमा बिमा समितिले तोकेको वा दैनिक समानुपातिक विधिबाट गणना गरिएको असमाप्त जोखिमबापतको व्यवस्थामध्ये जुन बढी हुन आउँछ सोहीबराबरको असमाप्त जोखिमबापतको व्यवस्था, खुद दाबीबापतको व्यवस्था, महाविपत्तिबापतको व्यवस्था र अन्य आकस्मिक व्यवस्थाको योग नै टेक्निकल रिजर्भ हो । पुनर्बिमा व्यवसाय गर्ने बिमकको हकमा कम्पनीको दायित्व, खुद दाबीबापतको व्यवस्था र असमाप्त जोखिमबापतको व्यवस्थाबापतको रकमको योग हो ।

कृषि, पर्यटन र जलस्रोतमा २० प्रतिशत लगानी गर्न पाइने
बिमा कम्पनीहरूले कृषि, पर्यटन र जलस्रोतमा पनि लगानी गर्न पाउने भएका छन् । बिमा समितिले संशोधन गरेको निर्देशिकाअनुसार यस्तो क्षेत्रमा कम्पनीहरूले २० प्रतिशतसम्म लगानी गर्न सक्नेछन् । तर, एउटै परियोजनामा लगानी गर्न आह्वान गरिएको कुल रकमको १० प्रतिशतभन्दा बढी लगानी गर्न पाइने छैन । साथै यस्तो लगानी गरिने कम्पनी पब्लिक कम्पनी हुनुपर्नेछ । कम्पनीहरूले लगानी गर्नुपूर्व समितिसँग स्वीकृति लिनुपर्नेछ । 

nayapatrikadaily
 

Comment with Facebook

Explore by City